इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिवद्धता

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष गणेश कार्कीले उनलाई कार्यालयमा स्वागत गर्दै औपचारिक रूपमा पदबहाली गराएका हुन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डाँगीले अधिवेशनका क्रममा फरक–फरक धारमा देखिएका सदस्यहरू अहिले सर्वसम्मत नेतृत्व चयनपछि एक ढिक्का भएर अघि बढेको बताएका छन्। उनले ऊर्जा क्षेत्रको समग्र हितका लागि सबै सदस्यलाई समेटेर कार्यविभाजनसहित प्रभावकारी रूपमा काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

डाँगीले भने, “चुनावको बेला जे भयो, सकियो। अब हामी एक ढिक्का भएर काम गर्नेछौँ। सबैलाई जिम्मेवारी दिएर प्रभावकारी रूपमा अघि बढ्छौँ।” उहाँले कार्यसमितिमा रहेका सबैलाई समान जिम्मेवारीसहित परिचालन गरिने पनि बताए ।

तीन कार्यकाल कार्यसमितिमा रहेर अनुभव सँगालेका डाँगी चौथो कार्यकालमा अध्यक्ष बनेका हुन्।

यसैबीच, निवर्तमान अध्यक्ष गणेश कार्कीले संस्थाभित्र बोल्दा संयमता र समन्वय आवश्यक हुने बताए । उनले कुनै विषयमा पूर्ण जानकारी नभएमा पछि छलफल गर्न सकिने भन्दै ऊर्जा क्षेत्रको प्रतिष्ठा जोगाउन जिम्मेवार अभिव्यक्तिको आवश्यकता रहेको उल्लेख गरे ।

कार्कीले विगतमा इप्पानले उठाएका मुद्दा राजनीतिक दलका घोषणापत्रमा समेटिनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अबको नेतृत्वले ती विषयको कार्यान्वयनका लागि निरन्तर दबाब दिनुपर्ने धारणा राखे ।

त्यस्तै, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले नेतृत्व परिवर्तन भए पनि ऊर्जा क्षेत्रका मुद्दामा निरन्तरता रहने बताए। उहाँले पुरानो नेतृत्वको योगदानलाई निरन्तरता दिँदै संस्थागत रूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

इप्पानमा करिब ७०० ऊर्जा उत्पादक कम्पनी आबद्ध छन्। संस्थाको नयाँ कार्यसमिति जेठ २९ गते चयन भएको थियो भने असार १ गते सपथग्रहणपछि असार ३ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरिएको हो।