केबलकार विवाद- गृहमन्त्रीसँग कांग्रेस कोशीका १४ जिल्ला सभापतिको छलफल

काठमाडौँ  —गृहमन्त्री रमेश लेखकले पाथीभरा (मुकुमलुङ) क्षेत्रमा केबलकार निर्माणका क्रममा देखिएको विवादका बारेमा कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरूसँग छलफल गरेका छन्।

मंगलबार बिहान जिल्ला सभापतिहरूसँग गृहमन्त्री लेखकले विवादको कारण र समाधानका उपायबारे छलफल गरेका हुन्। जिल्ला सभापतिहरूले गृहमन्त्रीलाई  संवादका माध्यमबाट विवाद समाधान गर्नुपर्ने सुझाव दिएका गृहमन्त्रालय स्रोतले बतायो।

यता सरकारी वार्ता टोलीले र आन्दोलनरत पक्षसँग वार्ता सुरु गरिसकेको छ। सोमबार साँझ भएको वार्ता निष्कर्षविहिन भएपछि मंगलबार फेरि वार्ता हुँदैछ।

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-११, बलुडाँडामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएपछि पूर्वी नेपाल तनावग्रस्त बनेको छ। केही सुरक्षाकर्मी र प्रदर्शनकारी घाइतेसमेत भएका थिए।

‘नो-केबलकार’ पक्षले केबलकारको निर्माण तत्काल स्थगित गर्नुपर्ने र पक्राउ परेका आन्दोलनकारीहरूको बिनासर्त रिहाइ गरिनुपर्ने माग राखेका छन्।