‘जनसंख्याका आधारमा महिला प्रतिनिधित्व हुनुपर्छ’

काठमाडौं —  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा महिलाको  समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आर्थिक समानता र जनंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने बताएका हुन्।

‘साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ,’ उनले भनेका छन्।

राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरुपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाहरुको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव नभएको उनले बताएका छन्।

Laxmi sunrise bank 2034

आठ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन भएको र यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको उनले बताए।

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धि हासि गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ र अहिले जनतासँग माओवादी, तराई मधेस जागरण अभियानमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यो अभियानले महिलालगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरुक, संगठित र आन्दोलित गर्ने कुरा व्यक्त गरे।

८ मार्चले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र संगठितरुपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।