‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन् : अध्यक्ष ओली

काठमाडौं, फागुन २ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गर्नुभयाे ।

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन मंगलबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सत्ता प्रात्तिका लागि लत्रिएर नजाने बताउनुभयाे ।

उहाँले भन्नुभयाे , ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।’

हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, उहाँले भन्नुभयाे,  सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’ उहाँले भन्नुभयाे ।

संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताउनुभयाे । ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन् ’ ओलीले भन्नुभयाे, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’

अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको बताउनुभयाे ।