दुर्गा प्रसाईंको भिडियो सन्देश- जीवनको ज्ञारेन्टी हुन्छ भने २४ घन्टाभित्र उपस्थित हुन्छु

काठमाडौँ—   तीनकुनेको हिंसात्मक प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईंले आफ्नो जीवनको ज्ञारेन्टी भए चौबिस घन्टामा उपस्थित हुने बताएका छन्।

बुधबार दुर्गा प्रसाईं नामको फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफू वकिल र मानवअधिकारकर्मीहरूको रोहबरमा प्रहरीसमक्ष उपस्थित हुन तयार रहेको बताएका हुन्।

‘मेरो जीवनको ज्ञारेन्टी हुन्छ भने चौबीस घन्टाभित्र प्रहरीसमक्ष उपस्थित हुन्छु। प्रहरीले खोजीराख्नुपर्दैन,’ प्रसाईंले भने।

उनले केही वकिलहरुको नाम पनि लिएका छन्। ध्रुवलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी र भीमार्जुन आचार्यसहित मावनअधिकार कर्मीहरूको रोहबरमा आफू उपस्थित हुन तयार भएको बताएका हुन्।

Laxmi sunrise bank 2034

प्रसाईंले नेतृत्व गरेको हिंसात्मक प्रदर्शनमा चैत १५ गते काठमाडौंमा दुई जनाको मृत्यु भएको थियो। त्यस दिन राजावादी प्रदर्शनकारीहरूले  दर्जनौं घर र गाडी जलाएका थिए।

जडिबुटीको सन्चो कम्पनी, नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय, तीनकुनेको भवन, विभिन्न मिडिया हाउसको कार्यालयमा आगजनी गरेका थिए।

सो घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा लगायत १० जना भन्दा बढी विरूद्ध राजद्रोहको मुद्दा चलाइएको छ। घटनामा ४१ जनाविरूद्ध संगठित अपराधमा मुद्दा चलाइएको छ। प्रसाईं भने सोही दिन देखि फरार छन्।