सांसद एकनाथ ढकाल आइएससीका महासचिव

काठमाडौँ— पूर्वमन्त्री तथा संघीय संसदका सदस्य एकनाथ ढकाललाई संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोगका लागि विश्वव्यापी मञ्च अन्तर–संसदीय सभामुख सम्मेलन (आइएससी) को महासचिवमा नियुक्त गरिएको छ। आइएससीले  २०२५ अप्रिल ११ मा दक्षिण कोरियाको सियोलमा आफ्नो उद्घाटन सभा आयोजना गर्‍यो, जसमा विश्वभरका लगभग ४० राष्ट्रका सभामुख तथा सांसदसहित एक सय ५० प्रतिनिधिको सहभागिता थियो।

सम्मेलनले पाकिस्तानका सिनेटका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सैयद युसुफ रजा गिलानीलाई आइएससीको संस्थापक अध्यक्षमा निर्वाचित गर्‍यो। सांसद ढकालको यस उच्चस्तरीय नियुक्तिले नेपाललाई संसदीय कूटनीतिमार्फत जलवायु परिवर्तन, शान्ति र दिगो विकासजस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने महत्त्वपूर्ण विश्वव्यापी आन्दोलनको केन्द्रमा राखेको छ। सांसद सुनिता बरालले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्तव्य दिइन्।

Laxmi sunrise bank 2034

उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुन, दक्षिण कोरियाका उपसभामुख ली ह्याकयोङ र बुसान महानगरपालिकाका मेयर हेओङ–जुनलगायतको उपस्थिति थियो। यसका साथै, संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष महामहिम फिलेमोन याङ र अन्तर–संसदीय संघका महासचिव महामहिम मार्टिन चुङगोङले सभालाई भर्चुअल रूपमा सम्बोधन गरे।

आइएससीले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने लक्ष्य राखेको छ र अन्तर–सरकारी र अन्तर–संसदीय तथा वित्तीय संस्थाहरूसँग काम गर्ने योजना बनाएको छ। सियोल सम्मेलनले एउटा नयाँ प्लेटफर्मको सुरुआत गर्नेछ, जहाँ नेपालले विश्वव्यापी संवादलाई आकार दिन केन्द्रीय नेतृत्वको भूमिका खेल्नेछ।

अन्तर–संसदीय सभामुख सम्मेलनको अध्यक्ष तथा पाकिस्तानका सिनेटको वर्तमान अध्यक्ष र पूर्वप्रधानमन्त्रीसमेत रहेका सैयद युसुफ रजा गिलानीले सभामुखहरूको सम्मेलनको पूर्ण सत्रमा सांसद ढकाल महासचिवम मनोनयन भएको घोषणा गरेका थिए।