यौन दुर्व्यवहारमा परेकी पीडित मृत फेला प्रकरण : गृहमन्त्रीले दिए छानबिनको निर्देशन

काठमाडौँ—  आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएको घटना प्रकरणमा गृहमन्त्रीले चासो देखाउँदै यथार्थ छानबिनको निर्देशन दिएका छन् ।

गृहमन्त्री रमेश लेखकको गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापालाई बुधबार बिहान फोनमार्फत् तत्काल घटनाको यथार्थ छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री लेखकले प्रहरी महानिरीक्षकलाई फोनमार्फत् निर्देशन दिइसकेकाले पीडित परिवारले गत ९ पुसमा दिएको जाहेरीपछि र त्यसअघिको पनि छानबिन गरी दोषी पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याइने छ । गत ९ पुसमा बलात्कार प्रयासको घटनाबाट ज्यान जोगाएकी सिरहाको नरहा गाउँपालिका, बर्छवा गाउँकी करिब २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका– ३, दोनबारी टोलस्थित माइतीघरमा मंगलबार मध्यान्ह झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

छिमेकी बरियारपट्टि गाउँपालिका– १ कचनारीको नरगीस्थित दिदीको घर गइरहेका बेला आनन्दीदेवी सदायलाई गत ९ पुसको बिहान करिब ११ बजे माइती गाउँनजिकै रहेको नवराजपुर गाउँपालिका– ३ जगतपुरमा स्थानीय २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले घेरा हालेर बलात्धकार प्रयास गरेका थिए। उनीहरुले हात समातेर मुख थुन्दै हरिनारायण यादवको पोखरीको दक्षिणतर्फ बगैंचामा लगेर बलत्कार गर्न लुगासमेत च्यात्न थालेपछि चिच्याउँदै भागेर घरमा पुगेर आफूमाथि भएको ज्यादतीको विषयमा आमालाई सुनाएकी थिइन् ।

Laxmi sunrise bank 2034

त्यही दिन पीडितकी आमा बिलटौनदेवीले इलाका प्रहरी कार्यालय महशेपुरपतारमा दुई जना युवकको नामै किटान गरी जाहेरी दिएकी थिइन् । तर, न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्न दबाब भएपछि तनावमा रहेकी उनी स्थानीय प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन ढिलाई गर्दा छोरीले ज्यान फालेको आमा बिलटौनदेवी सदायले बताइन् ।

गृहमन्त्रीले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएपछि बुधबार बिहान जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मासहित स्थानीय प्रहरी नवराजपुर ३ जगतपुर दोनवारी गाउँ पुगेर पीडित परिवारलाई महेशपुरपतार प्रहरीमा जान आग्रह गरेको पीडित परिवारले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा राखिएको छ ।