ट्रम्प प्रशासनको निर्देशन : विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट नलिन

काठमाडौँ — ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूको भिसा अन्तर्वार्ताका लागि नयाँ अप्वाइन्टमेन्टहरू स्थगित गरेको छ। प्रशासनले अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसा अन्तर्वार्ताका नयाँ अप्वाइन्टमेन्टहरू तत्काल रोक्न निर्देशन दिएको हो।

ट्रम्प प्रशासनले आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल (सोसल मिडिया) छानबिन गर्नुपर्ने कारण देखाएर तत्कालका लागि भिसा अन्तर्वार्ताहरू स्थगित गर्ने निर्णय गरेको हो। यसअघि पनि सामाजिक सञ्जालको छानबिन हुँदै आएको भए तापनि अब अलि कडा रूपमा छानबिन गर्ने योजना प्रशासनले बनाएको देखिन्छ।

यो निर्देशन मङ्गलबार जारी गरिएको थियो र यसमा विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन्। यो निर्देशन कार्यान्वयनमा आएमा विद्यार्थी भिसाको प्रक्रिया अत्यन्तै ढिलो हुने सम्भावना छ।

Shivam Cement

भिसामा हुने ढिलाइले विदेशी विद्यार्थीहरूमा निर्भर रहेका विश्वविद्यालयहरूलाई आर्थिक रूपमा समस्या पर्नेछ। एफ, एम र जे श्रेणीअन्तर्गतका विद्यार्थी तथा एक्सचेन्ज भिसाअन्तर्गतका नयाँ अन्तर्वार्ताहरू थप नगर्न दूतावासहरूलाई प्रशासनले निर्देशन दिएको छ।

भिसा अन्तर्वार्ताको क्रममा यसअघि पनि सामाजिक सञ्जाल जाँच गरिएको थियो। तर ती प्रायः गाजामा इजरायलको कारबाहीको विरोधमा प्रदर्शनमा सहभागी भए नभएकोमा मात्रै केन्द्रित रहेको थियो। पछिल्लो निर्देशनमा भविष्यमा के कसको सामाजिक सञ्जाल जाँच गरिने स्पष्ट रूपमा उल्लेख छैन। तर यसले आतङ्कवादी विरुद्ध तथा यहूदी विरोधको विरुद्धमा जारी कार्यकारी आदेशहरूलाई सङ्केत गरेको छ।

थुप्रै स्टेट डिपार्टमेन्ट अधिकारीहरूले पहिलेको मार्गनिर्देशन अस्पष्ट भएको भन्दै निजी रूपमा गुनासो गर्दै आएका थिए। जस्तै, कसैले एक्स (पहिले ट्विटर) मा प्यालेस्टिनी झन्डाको फोटो राख्दा थप जाँचमा पर्नुपर्छ कि पर्दैन भन्ने विषय स्पष्ट थिएन।