महाधिवेशन अघि नेतृत्वबारे अनावश्यक अनुमान नगर्नुस्: पौडेल

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको महाधिवेशनअघि नेतृत्वको विषयमा अनावश्यक अनुमान र बहस नगर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

उनले पार्टीभित्र नेतृत्वभन्दा पहिले विधि र विधान महत्त्वपूर्ण हुने भन्दै अहिले सम्पूर्ण ध्यान विधान महाधिवेशनमा केन्द्रित गर्न आग्रह गरे।

बुधबार काठमाडौंमा पार्टीको जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेमा देखिएका समस्या समाधान गर्न वर्तमान नेतृत्व सक्षम रहेको बताए। उनले समकालीन राजनीतिक दलहरूमध्ये एमाले सबैभन्दा कम आन्तरिक समस्या भएको पार्टी भएको दाबी गरे।

Shivam Cement

पार्टीभित्र देखिने सामान्य समस्याहरूलाई अस्वाभाविक रूपमा लिन नहुने तर्क गर्दै उनले भने, ‘कतै पनि सग्लो पार्टी भेटिँदैन। धोएको मूला जस्तो, गंगाजल जस्तो पार्टी खोजेर पाइँदैन।’

उनले एमालेमा जे-जस्ता समस्या भए पनि तिनलाई विधि र विधानको माध्यमबाट समाधान गरिनेमा जोड दिए। ‘एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन्, तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ,’ पौडेलले भने।