‘कुलिङ पिरियड’ छेडखानीः कार्यविधिलाई अन्तिम रुप दिने छानबिन समितिको निर्णय

काठमाडौँ — संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा भएको छेडखानीको विषयमा छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ।

बुधबार संघीय संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधि अन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिएका छन्।

उनले भने, ‘आज भएको छानबिन समितिको बैठकमा हिजो छलफल गरेको कार्यविधिका बारेमा नै छलफल गरेका छौं। त्यो कार्यविधि अन्तिम चरणमा पुगेको छ। अबको काम कसरी अगाडि बढाउने भन्ने बारेमा पनि छलफल भएको छ। आजको बैठकले कार्यविधिलाई अन्तिम रुप प्रदान गर्ने निर्णय गरेको छ।’

Shivam Cement

उनले समितिको अर्को बैठक भोली १२ः१५ मा बस्ने तय भएको पनि बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा र समितिमा कांग्रेसकै सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन्।