सरकारी सम्पत्ति एक खर्ब १६ अर्ब रुपैयाँ नाघ्यो, दायित्व ९५ अर्ब

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७६\७७ को संकलित वित्तीय विवरण सार्वजनिक गरेको छ । महालेखा नियन्त्रक श्री गोपालराज पौड्यालको कार्यकालमा तयार पारिएको यो विवरण नेपाल सरकारको लेखापरीक्षण सम्पन्न भएपछि सार्वजनिक गरिएको हो ।

कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संकलित वित्तीय विवरणमा नेपाल सरकारका सबै मन्त्रालय, विभाग, आयोग, समिति, निकाय तथा विभिन्न कोषका वित्तीय क्रियाकलापहरूको एकीकृत विवरण समेटिएको छ । सो विवरण सार्वजनिक लेखाजोखा प्रणालीमा पारदर्शिता, जवाफदेहिताको सुनिश्चितता र वित्तीय अनुशासन मजबुत बनाउन महत्वपूर्ण मानिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक तथा प्रवक्ता दीपक लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार २०७६\७७ को अन्त्यसम्म नेपाल सरकारको स्वीकृत सार्वजनिक लेखाजोखाअनुसार कुल सम्पत्ति १ खर्ब १६ अर्ब ५४ करोड ५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा सरकारको दायित्व ९५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ र स्वतन्त्र इक्विटी (शुद्ध सम्पत्ति) २० अर्ब ९६ करोड २७ लाख रुपैयाँ रहेको जनाइएको छ ।

यस्तै, विभिन्न निष्क्रिय निक्षेप र अन्य कोषहरूमा जम्मा रु ६५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको मौज्दात रहेको पनि विवरणमा उल्लेख गरिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार संकलित वित्तीय विवरण नेपालको सरकारी लेखा प्रणाली सुधार र अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड  अनुरूपको अभ्यास विस्तारतर्फको कदम हो । यो विवरणले केन्द्र, प्रदेश र स्थानीय तहका वित्तीय जानकारीहरूलाई एकीकृत ढङ्गले प्रस्तुत गर्ने अभ्यासलाई सुदृढ बनाएको छ ।

कार्यालयले आगामी वर्षहरूमा संकलित वित्तीय विवरणलाई अझ समयमै तयार गरी सार्वजनिक गर्ने, अनलाइन लेखा प्रणाली  विस्तार गर्ने र राज्यको सम्पत्ति तथा दायित्व व्यवस्थापनमा डिजिटल नवीनीकरणलाई प्राथमिकता दिने योजना रहेको जनाएको छ ।

सार्वजनिक वित्तीय पारदर्शिता र लेखापरीक्षण प्रणाली सुधारका लागि यो कदम राज्यको वित्तीय विश्वसनीयता र सुशासन प्रवद्र्धनतर्फको महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।