समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री

काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उहाँको जोड छ ।

त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा भन्नुभएको छ, “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।”

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”