पोखरा : पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । तीन वर्षे ठेक्का अवधि सकिँदा पनि हालसम्म पुलको करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पुल निर्माणको ठेक्का म्याद आगामी वैशाखसम्म थपिएको छ ।
“अहिलेकै गतिमा काम भयो भने वैशाखभित्र पनि पुल सक्ने सम्भावना कम छ,” उनले भने,“निर्माण कम्पनीले चीनबाट ल्याउनुपर्ने केवललगायतका सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।”
२०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । डिजाइन स्वीकृति र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको र त्यसपछि मात्र निर्माणले गति लिएको कुँवरले बताए ।
चार जगको काम पूरा भइसकेको र चार टावर निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । चीनबाट ल्याइने ‘केबल–स्टेड’ प्रविधिका केबलका लागि कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरिरहेको छ ।
भ्याटबाहेक ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको हो । आकर्षक डिजाइनमा बन्ने पुल एक सय ९० मिटर लामो छ, जसमा कङ्क्रिट र फलामको संयोजन गरिएको छ ।
कुँवरका अनुसार पुलको जग निर्माणमा बढी समय लागे पनि माथिल्लो संरचनाको काम तीव्र रूपमा अघि बढाउने तयारी गरिएको छ । “यो पुल बनेपछि पोखराको सौन्दर्य र पर्यटन आकर्षणमा थप वृद्धि हुनेछ,” उनले बताए ।
पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत सेती नदीका साथै तनहुँको मादी नदीमा पनि ‘सिग्नेचर’ पुल निर्माणाधीन छन् । आयोजनाको पश्चिम खण्डमा अहिलेसम्म ११ पुल निर्माण सकिएका छन् भने दुई पुल (विजयपुर र सेती) निर्माण चरणमा छन् ।
तनहुँका म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१ र २, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेका छन् ।



