काठमाडौं – चाडपर्व नजिकिँदै जाँदा काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सँग सहकार्य गर्दै काठमाडौंका विभिन्न क्षेत्रमा रहेका होटल, रेष्टुराँ र खाद्य व्यवसायमा अनुगमन सुरु गरेको हो ।
बिहीबार नयाँबानेश्वर क्षेत्रमा गरिएको अनुगमनमा अधिकांश साना होटल तथा रेष्टुराँ व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको महानगरले जनाएको छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालनमा रहेका व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
“सानो लापरवाहीले विभिन्न रोगको सङ्क्रमण फैलिन सक्छ,” उनले भने,“त्यसैले सरसफाइमा ध्यान दिनु व्यवसायीको कर्तव्य हो, अटेर गरे कानुनअनुसार कारबाही गरिनेछ।”
न्यौपानेले थप भने,“महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन खोजेको होइन, बरु उनीहरूलाई जिम्मेवार बनाउन चाहन्छ । सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैका लागि लाभदायी हुन्छ ।”
त्यस्तै, कामपा खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले महानगरले अहिले सशक्तीकरण, अनुगमन र नियमनलाई प्राथमिकता दिएको बताए ।
“हामी बजारको वास्तविक अवस्था बुझ्दैछौं,” उनले भने,“खाद्य स्वच्छता र गुणस्तरका मापदण्डमा व्यवसायी कत्तिका सचेत छन् भन्ने मूल्याङ्कन भइरहेको छ। राम्रो गर्नेलाई हौसला दिइन्छ, कमजोरी देखिए सम्झाइन्छ र सचेत गराइन्छ; तर बारम्बार अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिन्छ ।”
अनुगमनमा मापदण्डविपरीत रहेका व्यवसायलाई खाद्य अनुज्ञापत्रमा तोकिएका वस्तु मात्र प्रयोग गर्न, सरसफाइमा विशेष ध्यान दिन, मास्क, एप्रोन र पञ्जा अनिवार्य प्रयोग गर्न, फोहर व्यवस्थापनमा डस्टबिन प्रयोग गर्न, व्यवसाय दर्ता र नवीकरण समयमा गर्न, र मापदण्डअनुसार सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ।
महानगरका अनुसार अनुगमनको मुख्य उद्देश्य व्यवसायीलाई डर देखाउने होइन, बरु स्वच्छ, जिम्मेवार र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने हो।
तर, यति गर्दा पनि लापरवाही देखिएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी महानगरले दिएको छ।



