सिंहदरबार आगजनीमा समयमै महानगरको दमकल नपुग्नु दुखद हो : वडाध्यक्षहरू

काठमाडौं – काठमाडौं महानगरपालिकाको ४३ औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गतेको आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन् । बैठकमा २३ र २४ गतेको घटनाबारे कुनै एजेन्डा नराखिएको हुँदा वडाध्यक्षहरूले असन्तोष व्यक्त गरेका हुन् ।

वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले घटनाप्रति श्रद्धाञ्जली नदिइएको र विध्वंसको भत्र्सना नभएकोमा दुःख व्यक्त गरे । वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि घटनाबारे समिक्षा हुनुपर्ने बताए ।

बैठकमा सहभागी श्रेष्ठले सिंहदरबारको आगजनीमा भएको क्षति देखेर रुन मन लागेको र अब यसको पुननिर्माण महानगरले गर्ने प्रस्ताव गरे । उनले दमकल समयमै परिचालन नभएको र छिमेकी महानगरपालिकाबाट मात्रै दमकल आएर आगो निभाइएकोमा दुःख व्यक्त गरे ।

महानगर प्रहरीका एसपी तथा विपद व्यवस्थापन समितिका संयोजक बिष्णु प्रसाद जोशीले दमकल परिचालनमा अथक प्रयास गरिएको तर अवरोधका कारण समयमै पुग्न नसकेको जवाफ दिए ।