डेढ महिनामा सात हजार पर्यटक भित्रिए

काठमाडौं – मनसुन सकिएसँगै हिमाली जिल्ला मनाङको मौसम खुलेपछि यहाँ विदेशी पर्यटकहरूको आगमन बढेको छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयका अनुसार यस वर्षको पर्यटक याम सुरु भएपछि डेढ महिनामै सात हजार ४६१ जना विदेशी पर्यटक मनाङ आएका छन् ।

एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अष्ट्रेलियाका चार सय ४१ नागरिकले अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ, लार्के पास र तिलिचो ताल भ्रमण गरेका छन् । उनले भने, “विश्वका ८७ देशका नागरिकले यस याममा मनाङका रमणीय स्थल भ्रमण गरेका छन्। यसले मनाङ र राष्ट्रिय अर्थतन्त्र दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।”

पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङका अनुसार जेनजी आन्दोलन र मनसुनको समयमा भएका बाढीपहिराका कारण पर्यटन सुस्ताएको भए पनि अहिले पुनः चहलपहल सुरु भएको छ। उनले भने, “अहिले देशमा शान्ति कायम हुँदै गएपछि विदेशी आगमन बढ्दै गएको छ। मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ।”

त्यस्तै होटल व्यवसायी नवीनविक्रम सिंहले पनि पछिल्ला हप्ताहरूमा पर्यटक आगमन बढेको बताए । “जति हुनुपर्ने हो त्यति त भएको छैन, तर बुकिङ रद्द भएका होटलहरू अहिले पुनः भरिन थालेका छन्,” उनले भने। सिंहका अनुसार हिल्टन होटलमा भएको आगजनीपछि केही पर्यटक त्रसित भए पनि परिस्थितिले सामान्य रूप लिँदै गएको छ ।

हाल मनाङका सडक र पदमार्गमा विदेशी तथा स्वदेशी दुवै पर्यटकको आवागमन देखिन थालेको छ। यद्यपि, अघिल्ला वर्षहरूजति भीड नभए पनि ग्रामीण पर्यटन र जोखिमयुक्त भ्रमणको आकर्षणले स्वदेशी पर्यटक पनि बढ्दै गएका छन् ।

विदेशी पर्यटकहरू प्रायः यहाँको मौलिक संस्कृति, जीवनशैली र प्राकृतिक सौन्दर्य अनुभव गर्न आउने गरेका छन्। अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ जोखिमयुक्त पदमार्गमध्ये एक हो, जसमार्फत पर्यटक मनाङबाट थोराङ्ला पास पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । हाल सडक यातायात सहज भएपछि चामे र खाङ्सारसम्म सवारीसाधनमा पुग्न सकिने र त्यसपछि मात्र पदमार्गको मुख्य यात्रा सुरु गर्ने प्रचलन बढेको पाइन्छ ।