इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

काठमाडौं – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइँदैछ र दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका रहेको छ ।

शवको स्वागत तथा श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहने तयारी छ ।

विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए र २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाएका थिए । उनको अवस्था केही समय अज्ञात रहँदा असोज २७ मा इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको छ भने फरेन्सिक जाँचले उनलाई अपहरणकै समयमा मृत्यु भएको देखाएको छ, इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् ।