नारायणपुर–राजपुर सडक खण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो

बाँके — राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा रहेको छ ।

हुलाकी सडक निर्देशनालयले केही वर्षअघि नै नारायणपुर–राजपुर सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरे पनि निर्माणकार्य सुरु हुन सकेको छैन। डिपिआर अनुसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सो खण्ड निर्माण नगरिएसम्म हुलाकी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन सक्दैन । उनका अनुसार स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा फाइल पेस भइसकेको र छिट्टै स्रोत सुनिश्चित भएपछि ठेक्का व्यवस्थापन प्रक्रिया अघि बढाइने तयारी छ ।

करीब ३५ किलोमिटर लम्बाइको यो सडक निर्माण सम्पन्न गर्न करिब चार वर्ष लाग्ने अनुमान गरिएको छ । सो खण्डमा १५ वटा पुल निर्माण गर्नुपर्नेछ। सडकको आधाभन्दा बढी अर्थात् १८ किलोमिटर भाग जङ्गल क्षेत्रभित्र पर्ने भएकाले निर्माणमा थप चुनौती रहने अनुमान गरिएको छ ।

हाल नेपालगञ्जदेखि अगैयासम्मको भाग पूरा भइसकेको र सो खण्डमा सवारीसाधन हुलाकी सडकमार्ग नै प्रयोग गरिरहेका प्रमुख भण्डारीले जानकारी दिए । बाँकेको नारायणपुर–दाङको राजपुरसम्मको खण्डको स्रोत सुनिश्चित अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न भएपछि बाँकेको सोनारी क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।