मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभान्वित

गोरखा — गोरखाको आरुघाट गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालमा गरिएको मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना बिरामी लाभान्वित भएका छन् ।

आरुघाट गाउँपालिकाको आयोजनामा तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार दुई दिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँच, स्क्रिनिङ तथा शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. कृष्ण गुरुङको नेतृत्वमा आएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूको उपचार गरेको थियो ।

गाउँपालिकाले शिविरले दुर्गम तथा विपन्न नागरिकलाई आफ्नै घरदैलोमै गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्न सहज भएको जनाएको छ ।

लामो समयदेखि मोतीविन्दुका कारण दृष्टि समस्या झेल्दै आएका बिरामीहरूले निःशुल्क शल्यक्रिया पछि दृष्टि फर्किएपछि खुसी व्यक्त गरेका छन् ।