पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

काठमाडौं – सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा वा पदयात्रा गर्नुअघि मौसम र स्वास्थ्यसम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने दैनिक मौसम पूर्वानुमान अध्ययन गर्न, यात्रा अघि पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, र लेक लाग्ने जोखिमबारे सचेत रहन अनुरोध गरिएको छ ।

प्राधिकरणका अनुसार पछिल्ला दुई दिन—कात्तिक ८ र ९ गते—लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको मृत्यु भएको छ भने एक जना स्पेनी नागरिकलाई गम्भीर अवस्थामा काठमाडौं ल्याइएको छ । लेक लागेर ज्यान गुमाएकाप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेक लाग्ने सम्भावना देखिएमा यात्रुहरूले तुरुन्त तल झरी उपचार प्रक्रियामा लाग्नुपर्छ । साथै, कुनै पनि यात्रामा एक्लै नजानु र आवश्यक पूर्वतयारीसहित यात्रा गर्नु अत्यावश्यक छ ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार यही कात्तिक १० र ११ गते देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । बङ्गालको खाडी र अरब सागरमा बनेका दुई न्यून चापीय प्रणालीका कारण मङ्गलबारदेखि शुक्रबारसम्म नेपालका विभिन्न भागमा मौसम प्रभावित हुने पूर्वानुमान गरिएको विभागले जनाएको छ ।

विभागले सो प्रणालीको सूक्ष्म विश्लेषण भइरहेको र आवश्यक परेको खण्डमा थप पूर्वानुमान तथा सतर्कता सूचना छिट्टै सार्वजनिक गरिने जनाएको छ ।