काठमाडौं – नेपाली बजारमा लगातार घट्दै आएको सुनको मूल्य सोमबार पुनः घटेर प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार तोलामा दुई हजार रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ तोकिएको थियो । यसअघि आइतबार मात्रै सुनको मूल्य एकैदिनमा ११ हजार ६ सय रुपैयाँले घटेको थियो । यससँगै तिहारपछि जम्मा १३ हजार ६ सय रुपैयाँले सुन सस्तो भएको छ ।
महासंघका अनुसार असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा लगातार गिरावट आएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हाल प्रतिऔंस ४,१०५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ । असोज ३ गते प्रतिऔंस ४,३५८ डलरसम्म पुगेको सुनको मूल्य करिब ५ प्रतिशतले घटिसकेको छ ।
अर्थशास्त्रीहरूको भनाइमा अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावनाको संकेत गरेपछि लगानीकर्ताहरू वैकल्पिक लगानीतर्फ मोडिँदा सुनमा बिक्री चाप बढेको हो । त्यसको असर विश्व बजार हुँदै नेपाली बजारमा देखिएको हो ।
सुनको मूल्य घटे पनि खुद्रा बजारमा मागमा भने ठोस वृद्धि नदेखिएको व्यवसायीहरूको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका एक सदस्यका अनुसार, “तिहारपछि बजारमा खरिदकर्ता सीमित छन्, लगानीकर्ताहरू अहिले प्रतिक्षा अवस्थामा छन् ।”
त्यस्तै, सोमबार चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको थियो । त्यसयता चाँदी पनि करिब ३७० रुपैयाँले सस्तो भएको छ ।



