काठमाडौं – सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठ पर्व आज देशभर श्रद्धा र भक्तिसहित मनाइँदैछ । छठका बर्तालुहरू बिहानै नदी, तलाउ र पोखरीमा स्नान गरी निर्जल व्रत बसेका छन् ।
दिनभर निराहार बसेका बर्तालुले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने विधि अनुसार पूजाआराधना गर्दैछन । राजधानी काठमाडौंमा गुह्येश्वरीदेखि गौरीघाटसम्म बनेका छठघाटहरूमा भक्तजनहरूको चहलपहल बढेको छ । बागमती, नक्खु, विष्णुमती, कमलपोखरी लगायत स्थानहरूमा पनि रंगीन बत्ती र तोरणले सजावट गरिएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। लोककथनअनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । त्यस व्रतको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। यही परम्परा पछ्याउँदै छठ पर्व आजसम्म निरन्तर रूपमा मनाइँदै आएको विश्वास छ ।
व्रतविधि र धार्मिक मान्यता
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक मात्र भोजन गरेर व्रतको आरम्भ गरिन्छ । दोस्रो दिन अर्थात् पञ्चमीका दिन सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइन्छ र व्रतालुले प्रसादस्वरूप ग्रहण गर्छन्। षष्ठीका दिन भने बर्तालुहरू पूर्ण निराहार रहँदै बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गर्छन् ।
गुह्येश्वरी–गौरीघाट छठ पूजा समितिका अनुसार आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएपछि रातभर जाग्राम बस्ने चलन छ। भोलिपल्ट अर्थात् सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व समापन गरिन्छ । धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल पक्षमा सूर्यदेवलाई अघ्र्य दिएमा चर्मरोग नलाग्ने र सौभाग्य वृद्धि हुने जनविश्वास छ ।
पहिले तराई क्षेत्रमा सीमित यो पर्व अहिले देशव्यापी रूपमा मनाइने चाड बनेको छ। विसं २०४६ पछि सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ। बीचका केही वर्ष बिदा कटाइए पनि पछिल्ला वर्षहरूमा पुनः सार्वजनिक बिदाको रूपमा घोषणा हुँदै आएको छ ।
छठ पर्वका बर्तालुहरू कार्तिक शुक्ल चतुर्थीदेखि नै सात्विक भोजन सेवन गरी लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ परित्याग गर्छन्। कतिपय व्रतालुहरू कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै शुद्धता र संयमका साथ तयारी थाल्छन् ।
छठ पर्वलाई अत्यन्तै पवित्र र अनुशासित चाडका रूपमा लिइन्छ, जसमा परिवार, समाज र प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिँदै प्रकृतिको शक्तिप्रति सम्मान र जीवनमा उज्यालो, शान्ति र समृद्धिको कामना गरिन्छ।



