म्याग्दी : मङ्गला गाउँपालिका–४ को न्युखोलामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको यात्राअवधि घटेर ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेसँगै खोल्सा र जङ्गलबाट घुमाउरो बाटो हिँड्नुपर्ने समस्या अन्त्य भएको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताइन् ।
उनका अनुसार, “धापुङ र महेशका बासिन्दालाई वडा कार्यालय पुग्न अब आधा समयमा पुग्न सकिन्छ । बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”
कुल ५७ लाख १० हजार ८६० रुपैयाँ लागतमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट १ सय ९३ घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ताले ६४ हजार ९६१ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
झोलुङ्गे पुल निर्माणका लागि ११ लाख ६६ हजार ४२४ रुपैयाँ स्टिल पाट्र्स खरिदमा खर्च भएको र उपभोक्ता समितिलाई ३१ लाख ८३ हजार ९१ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।
पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरेका हुन् । पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् ।



