काठमाडौं – कात्तिक सुरु भएको १० दिनमै मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी गरी ४० हजार ८७८ जना पर्यटक मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार सो अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन् ।
कात्तिक १० गते मात्रै म्याग्दी हुँदै ४ हजार ५९८ जना पर्यटक मुस्ताङ पुगेका थिए । तर, सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण कतिपयको मुक्तिनाथ यात्रा कठिन बनेको छ । कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ बसपार्कदेखि मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिमपात हुँदा तीर्थालुहरू समस्यामा परेका मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।
सुवेदीका अनुसार मुक्तिनाथ क्षेत्रमा भारी हिमपातका कारण चिसो अत्यधिक बढेको छ । स्नानकुण्ड र १०८ धारा जमेकाले भक्तजनले धार्मिक स्नान तथा पूजाआजामा कठिनाइ भोगिरहेका छन् ।
यस वर्षको साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ५९ हजार ४६७ जना पर्यटक मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



