एघार वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

भजनी, फागुन ३ गते । निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ मा पर्ने कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जगाएको छ । निर्माण कम्पनीले लापरवाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिला हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन् ।

पुलको बीचको स्पामको ढलान भएपछि पुल बन्ने आशा पलाएको भजनी नगरपालिकाका स्थानीय रुद्र चौधरी बताउनुहुन्छ । “पुलको काम प्रत्येक वर्ष सुरु हुँदा यस वर्ष काम सकिन्छ भन्ने आशा जाग्थ्यो । बर्खा लागेपछि हालत उस्तै हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अब लगभग पुलको काम सम्पन्न हुने देखिएको छ ।”

भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेपछि भजनीवासीको पुलबाट आवागमन गर्ने सपना पूरा हुन लागेको बताउनुभयो । “दुई स्पामको काम गत वर्ष नै सम्पन्न भएको थियो । बाँकी रहेको एक स्पामको ढलान भएको छ । एक दशकपछि बल्ल पुल बन्ने आशा पलायो”, वडाअध्यक्ष चौधरीले भन्नुभयो, “अब पुल बन्छ । लामो समयदेखि स्थानीयवासीले देखेको पुल प्रयोग गर्ने सपना पूरा हुने भएको छ ।”

विशेषगरी बर्खाको समयमा भजनीका स्थानीयवासीलाई कान्द्रा नदीकै कारण ओहोरदोहोर गर्न निकै समस्या थियो । डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका भजनीका स्थानीयले डुङ्गामा सवार गरेवापत पनि पैसा तिर्नुपर्ने अवस्था थियो । हिउँदमा पनि नगरपालिकाले डुङ्गा सञ्चालनका लागि ठेक्का दिने भएपछि नदी तरेको पैसा तिर्दै आएका स्थानीयलाई पुल निर्माण भएपछि सबै कुराको सहज हुने स्थानीय दीपक बोहरा बताउनुहुन्छ ।

“बर्खाको समयमा भजनीका अधिकांश बस्ती बाढी र डुबानमा हुन्छन् । त्यो समयमा गाउँमा कोही बिरामी पर्दा पनि अस्पतालसम्म पु¥याउन निकै कठिन अवस्था छ । त्यसको कारण कान्द्रा नदी हो”, उहाँ भन्नुहुन्छ, “पुल बनेपछि यस्ता कयौँ समस्याको समाधान हुनेमा हामी आशावादी छौँ । हाम्रा लागि पुल महत्वपूर्ण स्रोत बन्ने छ ।” एक सय मिटर लामो सो पुलको विसं २०६८ जेठ ३१ मा ठेक्का सम्झौता भएको थियो । सुरुको समय डिजाइन परिवर्तनका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले बताएको छ ।

बिरुवा÷लामा÷शेर्पा साल्पा जेभीले निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि कैयौँपटक म्याद थप गर्दा पनि काम पूरा हुनसकेको थिएन । रु तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीले पाएको थियो । पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आगामी चैत मसान्तसम्म पुलको म्याद थप गरिएको छ । थप गरिएको समयभित्र निर्माण कार्य पूरा हुने बताइएको छ । “पुलको महत्वपूर्ण काम सम्पन्न भइसकेको छ । थपिएको समयमा काम पूरा हुन्छ । यस वर्षको वर्षायाममा भजनीका जनताले पुलमा ओहोरदोहोर गर्न पाउनेछन्”, सुनारले भन्नुभयो, “निर्माण कम्पनीको लापरवाहीका कारण पुल निर्माणको काम सम्पन्न हुन समय लागेको हो । अब भने काम सम्पन्न हुन्छ ।”