ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध, बञ्चरेवासी आन्दोलित

काठमाडौं – नुवाकोटको धुनिवेशी नगरपालिका–१ बञ्चरे कुंडुले ल्यान्डफिल साइटका कारण प्रभावित स्थानीयवासीले फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान नखोजिएको भन्दै आन्दोलन तीव्र पारेका छन् । बुधबारदेखि सुरु गरिएको आन्दोलन अन्तर्गत स्थानीयहरूले फोहोर विसर्जनमा अवरोध गर्दै फिर्ता पठाएका सवारीसाधन रोक्का गरेका छन् ।

आन्दोलनकारी स्थानीयहरूको भनाइअनुसार फोहोरमैला व्यवस्थापनको दिगो योजना र प्रभाव मूल्याङ्कनबिनै वर्षौँदेखि फोहोर फ्याँकिँदै आएकाले स्वास्थ्य र वातावरणीय जोखिम बढेको छ । उनीहरूले समस्या समाधानका लागि संघीय सरकार र काठमाडौं महानगरपालिकालाई तत्काल वार्ताका लागि आग्रह गरेका छन् ।

आन्दोलन संयोजक निराजन सन्जेलका अनुसार, वार्ता नबोलाए आन्दोलनको स्वरूप बिहीबारदेखि थप कडा बनाइनेछ । “हामी अहिले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका छौँ । छलफलका लागि बोलाइएमा फोहोर खोल्न सकिन्छ, नभए आन्दोलन फरक मोडमा जानेछ,” सन्जेलले बताए ।

स्थानीयहरूका अनुसार फोहोर व्यवस्थापनका विषयमा धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकासँग सहमति खोज्ने प्रयास गर्नुपर्नेमा सरकार र महानगरले बेवास्ता गरेको आरोप छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकमाथि हेपाहा व्यवहार गरिएको भन्दै असन्तोष पनि प्रकट गरेका छन् ।

स्थानीयहरूका माग छ—बञ्चरे कुंडुले क्षेत्रमा फोहोर विसर्जन स्थायी रूपमा रोक्ने, वैकल्पिक स्थानको खोजी गर्ने र प्रभावित बस्तीको पुनस्र्थापना तथा क्षतिपूर्ति सुनिश्चित गर्ने ।