सिरहा, — हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ। निर्माण कार्य ठप्प भएपछि सिरहा–धनुषा आवतजावत गर्ने स्थानीय बासिन्दा अहिले पनि कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् ।
यही काठेपुल तर्नका लागि प्रत्येक यात्रुले रु २० शुल्क तिर्नुपरेको छ । विगतमा रु १०० सम्म असुल्ने गरिएकोमा पछि सिरहा नगरपालिकाको समन्वयमा शुल्क रु २० कायम गरिएको नगरका प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।
उनका अनुसार, “नगरपालिकाले कुनै बोलपत्र या ठेक्का दिएको होइन। स्थानीय युवाहरूले स्वेच्छिक रूपमा पुल बनाएका हुन् । मर्मत र मोटो–पातो खर्चका लागि मात्र शुल्क लिने सहमति गरिएको हो,” उनले भने, ।
तर, स्थानीयवासीहरूले यसरी शुल्क असुली गैरकानुनी भएको गुनासो गरेका छन् । दिनेश यादव नामका स्थानीयवासी भन्छन्, “कमला नदीमा जनताबाट शुल्क लिन नगरपालिका वा कसैलाई अधिकार छैन । यो गैरकानुनी कार्य हो । सङ्कलित रकम पारदर्शी छैन र नगरले जनतालाई निःशुल्क आवतजावतको व्यवस्था गर्नुपर्छ ।”
हरेक वर्ष वर्षायाममा बाढीले काठेपुल बगाउने र नदीको बहाव घटेपछि पुनर्निर्माण गर्ने क्रम दोहोरिइरहेको छ। बाढीका बेला पुल बगाएमा स्थानीयहरूलाई डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हुन्छ।
सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, “पुल नहुँदा सिरहा, धनुषा र सप्तरीका स्थानीयहरूलाई जनकपुर पुग्न भारतीय बजार जयनगर वा ढल्केवर–मिर्चैया हुँदै करिब तीन घण्टा लामो बाटो रोज्नुपर्छ।”
विसं २०६८ सालमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि म्याद पटक–पटक थपिँदा पनि काम पूरा हुन सकेको छैन। वडाध्यक्ष यादवका अनुसार, “पहिले पप्पु कन्स्ट्रक्सनले काम अलपत्र पा-यो र कालोसूचीमा प¥यो। बाँकी काम लुम्बिनी बिल्डर्सले लिए पनि करिब चार वर्षअघि आएको बाढीले पुलको संरचना भासिएपछि निर्माण पुनः रोकिएको हो। विसं २०८२ असारसम्मको अन्तिम म्याद पनि गुज्रिसकेको छ।”
तराई–मधेसको ‘लाइफलाइन’का रूपमा रहेको कमला नदीको पुल नबन्दा स्थानीयहरूमा गुनासो मात्र बढेको छैन, भविष्यमा पुल बन्ने÷नबन्ने अनिश्चितताले निराशा पनि फैलिएको छ।



