काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गर्ने आदेश दिएको हो। यससँगै उनी पुनः निलम्बनमा रहने भएका छन्।
पाण्डे यस वर्ष जेठ २० गते निलम्बनमा परेका थिए। निलम्बनविरुद्ध उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, कार्यवाहक प्रहरी बल प्रमुख बिष्णु जोशीलगायतलाई विपक्षी बनाएर जेठ २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले त्यतिबेला अन्तरिम आदेशमार्फत निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको थियो।
तर अन्ततः अदालतले बुधवार उक्त रिट खारेज गरेपछि निलम्बन निर्णय यथावत् रहने भएको छ। पाण्डेको निलम्बनको ६ महिनाको अवधि मंसीर २० गतेसम्म रहनेछ।
पाण्डेलाई मेयर बालेन शाहको आदेशमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाउन बल प्रयोग गरेको आरोप लागेपछि कारबाही गरिएको हो। त्यस क्रममा उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरू र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।
घटनापछि प्रशासकीय प्रमुख गुरागाईले कानूनी अधिकार प्रयोग गर्दै पाण्डेसँग स्पष्टिकरण मागेका थिए। तर स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै गुरागाईले उनलाई निलम्बन गरेका थिए। सो निर्णयविरुद्ध पाण्डेले अदालतमा गएर अन्तरिम आदेश लिएका थिए, जसको अन्तिम फैसला अहिले उनको विरुद्धमा आएको हो।



