वीरगञ्ज – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ मूल्यका सामान आयात भएका थिए । यस वर्षको सोही अवधिमा भने झन्डै ३४ अर्ब २३ करोडले बढी सामान भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको सुरुवाती तीन महिनामा आयात ह्वात्तै वृद्धि भएको छ । उनका अनुसार भारतसँगको मुख्य व्यापारिक नाकाका रूपमा रहेको वीरगञ्ज हुँदै पेट्रोलियम पदार्थदेखि कपडा र मेसिनरीसम्मका वस्तुहरू उल्लेखनीय मात्रामा आयात भएका छन् ।
भन्सार कार्यालयका तथ्यांकअनुसार सो अवधिमा पेट्रोलियम पदार्थ रु ३८ अर्ब ९ करोड, फलाम तथा फलामजन्य सामग्री रु १९ अर्ब ८४ करोड, मेसिनरी तथा पार्टपुर्जा रु १५ अर्ब ५७ करोड, भटमासको कच्चा तेल रु १४ अर्ब ८० करोड, मलखाद रु १२ अर्ब ८१ करोड, कपडा (सबै प्रकारका) रु १२ अर्ब १६ करोड, इलेक्ट्रिक मेसिनरी तथा उपकरण रु १२ अर्ब ६ करोड, र यातायातका साधन तथा पार्टपुर्जा रु १० अर्ब १२ करोड
मूल्यका वस्तुहरू आयात भएका छन् ।
भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुहरूको आयात वृद्धि मुख्य कारणले गर्दा समग्र आयात रकममा ठूलो वृद्धि देखिएको हो । वीरगञ्ज नाकालाई देशको प्रमुख व्यापारिक प्रवेशद्वार मानिँदै आएको छ ।



