‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी गाउँपालिकाको अनुदान

पर्वत — कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल खेती विस्तार अभियान’मा जुटेको छ । गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन ८० प्रतिशत अनुदानमा हाइटेक टनेल निर्माणका लागि सहकारी, कृषक समूह र व्यावसायिक फार्मबाट प्रस्ताव आह्वान गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा सो कार्यक्रमका लागि रु २ करोड २५ लाख विनियोजन गरेको छ । कृषि शाखाका अनुसार यस अभियानले बेमौसमी तरकारी उत्पादनलाई निरन्तरता दिने, उत्पादनमा विविधता ल्याउने र युवालाई कृषिमा पुनःआकर्षित गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले हाइटेक टनेल खेतीले किसानलाई प्रविधिमैत्री र दिगो आम्दानीतर्फ लैजाने विश्वास व्यक्त गरे । उनले भने, “टनेल खेतीले कम लागतमा बढी उत्पादन लिन सकिन्छ, जसले कृषि क्षेत्रलाई नयाँ आयाम दिनेछ ।”

स्थानीय किसानहरूका अनुसार विगत केही वर्षयता साना टनेलमार्फत राम्रो उत्पादन भए पनि पुँजी र प्रविधिको अभावले हाइटेक टनेल खेती विस्तार गर्न कठिनाइ हुँदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष परवीन गुरुङका अनुसार सहकारी, समूह र फार्मलाई सहभागी गराएर सामूहिक रूपमा आधुनिक टनेल निर्माण गर्न तयारी गरिएको छ । उनले भने, “विहादीमा मौसमी र बेमौसमी तरकारी उत्पादनका प्रशस्त सम्भावना छन् । सडकको पहुँचका कारण बजारको समस्या छैन ।”

कार्यक्रमअन्तर्गत सहभागी हुन इच्छुक कृषक, समूह वा सहकारीले १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय समूहलाई प्राथमिकता दिइने छ ।

अध्यक्ष गुरुङका अनुसार यो कार्यक्रम सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’का रूपमा चिनाउने लक्ष्य लिइएको छ । स्थानीय उत्पादनलाई बजार प्रतिस्पर्धी बनाउने र गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको हो ।

यसअघि पनि विहादीले टनेल विस्तार, मल्चिङ प्लास्टिक, स्प्रे, सिकेचर र बीउबिजनमा अनुदान दिँदै कृषकलाई प्रविधिमैत्री बनाउने अभियान सञ्चालन गरेको थियो ।