काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने उद्देश्यसहित विग्रेका सडक, ढल र खाल्टाखुल्टी मर्मत कार्य तीव्र पारेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट प्राप्त मागका आधारमा कार्यान्वयन भइरहेको ‘धुलोरहित सडक कार्यक्रम’ अन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार सुरु गरिएको हो ।
कार्यक्रमका फोकल पर्सन तथा वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर सडक पनि कालोपत्रे हुने भएको छ । उक्त सडक खण्डको करिब १९० मिटर भाग गत महिनामै कालोपत्रे गरिएको थियो । सडकको चौडाइ ९ देखि १४ मिटरसम्म रहेको छ ।
बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्रका विभिन्न सडकमा समेत सुधार कार्य भइरहेको छ । यसमा कुलेश्वर–टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे–पकनाजोल, चाक्सीबारी–जेपी चोक, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिरदेखि नागार्जुन पर्खालसम्म, शितला मार्ग, उमा महेश्वर मार्ग, रविभवन र बल्खु सर्भिस ट्र्याकलगायतका सडक समावेश छन् ।
महानगरको ‘धुलोरहित सडक कार्यक्रम’ ३ वर्षे वहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमअन्तर्गत महानगरलाई पूर्व, पश्चिम, उत्तर र मध्य गरी चार क्षेत्रमा विभाजन गरिएको छ ।
पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । करिब ९० करोड लागत अनुमान गरिएको यस क्षेत्रमा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले ७९ करोड ५७ लाखमा कामको जिम्मा पाएको छ । सम्झौता २०८१ असोज १४ गते भएको हो र कामको म्याद २०८३ असार मसान्तसम्म छ ।
पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रमा ७४ करोड ९९ लाख लागत अनुमान गरिएकोमा पीआर के एण्ड केजी एण्ड अम्बुजा जेभिले ६५ करोड ५७ लाखमा सम्झौता गरेको छ । निर्माण पक्षलाई २०८२ वैशाख ४ गते कार्यादेश दिइएको र कामको म्याद २०८४ वैशाख मसान्तसम्म रहनेछ ।
उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । ढुकुछु–आरए जेभिले ७३ करोडमा कामको जिम्मा पाएको छ । सम्झौता २०८१ असार ७ गते भएको हो र म्याद २०८३ असार मसान्तसम्मको छ ।
मध्य क्षेत्रमा वडा नं. ११, १२, १७ देखि २५ र २७ पर्छन् । यस क्षेत्रको लागत अनुमान करिब ४५ करोड रुपैयाँ थियो, तर बोलपत्रमार्फत ३४ करोड ३३ लाखमा अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले जिम्मा पाएको छ । सम्झौता २०८१ जेठ २९ गते भएको हो र म्याद २०८४ जेठ मसान्तसम्मको छ ।
महानगरपालिकाले पूर्वाधार सुधार र सडक कालोपत्रे कार्य पूरा भएपछि काठमाडौँलाई सफा र धुलोमुक्त सहरका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।



