एमालेले देशभरका ७ सय ५३ पालिकामा आज जनप्रदर्शन गर्दै

काठमाडौं – नेकपा एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन कार्यक्रम संचालन गरेको छ । मंगलबार देशका ७ सय ५३ पालिकामा एकैसाथ जनप्रदर्शन हुँदैछ ।

एमालेको निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय स्तरमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको हो । यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । ती भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी रणनीतिका विषयमा कार्यकर्ताहरुलाई जानकारी दिइएको थियो ।

आजको कार्यक्रममा कतिपय पालिकामा मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन भइरहेका छन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम सञ्चालन भएको छ । पार्टी केन्द्‍रले जनतालाई जगाउने नाराहरु तय गरेको छ ।

एमालेले जनपरिचालनमा सहभागी सबैले पार्टी झण्डा बोकी सहभागी हुन, घना बस्तीमा प्रदर्शन गर्न र कार्यक्रमको अन्त्यमा छोटो कोणसभा आयोजना गर्न निर्देशन दिएको छ । त्यसैगरी, कोण सभामा वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट जानकारी दिन नेताहरुलाई निर्देशन दिइएको छ । सहभागीले कार्यक्रमका तस्विर, भिडियो र मुख्य विषयवस्तु सामाजिक सञ्जालमा साझा गर्न र सञ्चार माध्यममा पठाउन पनि पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गरिसकेका छन् ।

एमालेका अनुसार आजको जनप्रदर्शन आगामी मंसिर ६ मा काठमाडौँमा हुने विशाल जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको तयारीको रुपमा पनि हुनेछ ।