मुस्ताङ, – उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका विद्यालयहरू जाडो छल्न बेँसीमा स्थानान्तरण भएका छन् । हिमपातको जोखिम र अत्यधिक चिसो मौसमका कारण लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा झारिएको हो ।
लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार गुम्बा विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालय हाल बेँसीमा झरेर घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् । गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीका अनुसार छोन्हुप झिन्जु आधारभूत, राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय क्रमशः दशैं र तिहारअघि नै बेँसी झरेका हुन् ।
दिव्यदीप माध्यमिक विद्यालयलाई पोखराको विजयपुरस्थित निजी विद्यालय भवनमा, छोन्हुप झिन्जु आधारभूतलाई हेम्जास्थित आफ्नै भवनमा र राष्ट्रिय आधारभूत विद्यालयलाई पोखरा लेखनाथको तालचोक किमबेँसीमा भाडाको भवनमा स्थानान्तरण गरिएको छ । यी विद्यालयहरूमा जम्मा १३२ विद्यार्थी अध्ययनरत छन् ।
त्यसैगरी लोमान्थाङका मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि आफ्नै खर्चमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् ।
फेडरल सरकारबाट घुम्ती विद्यालय सञ्चालनका लागि लोमान्थाङका तीन सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु तीन लाख ५० हजारका दरले वार्षिक सशर्त अनुदान उपलब्ध हुने गरेको छ । साथै हिमाली आवासीय छात्रावास कार्यक्रमअन्तर्गत कक्षा ४ माथिका विद्यार्थीलाई जनही रु पाँच हजार र गाउँपालिकाबाट प्रतिविद्यार्थी मासिक रु चार हजार अनुदान दिइने गरिएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि तीन सामुदायिक र दुई गुम्बा विद्यालय जाडो छल्न कात्तिक १० गते बेँसी झरेका छन् । शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेका अनुसार चराङ, घमी र जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई क्रमशः पोखरा र तनहुँका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालनका लागि पठाइएको छ ।
घुम्ती विद्यालय सञ्चालनका लागि फेडरल सरकारको अनुदान अपुग हुने भएकाले गाउँपालिकाले अतिरिक्त रु २५ लाख बजेट विनियोजन गरेको पनि न्यौपानेले बताए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल माध्यमिक विद्यालय भने यस वर्षदेखि घुम्ती कक्षा सञ्चालन नगर्ने निर्णय भएको छ । तर, कागबेनीस्थित कागछोदे गुम्बा विद्यालय भने यसपालि पनि घुम्ती कक्षा सञ्चालनका लागि बेँसी झरेको छ ।
माथिल्लो मुस्ताङका विद्यालयहरूमा घुम्ती शिक्षणको यो परम्परा लामो समयदेखि चल्दै आएको छ । हिउँदमा साविक स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरू रुघाखोकी, निमोनिया र हिमपातको जोखिममा पर्ने भएकाले विद्यालयहरू बर्सेनि बेँसी झर्ने गर्छन् ।
यसरी जाडो छल्न झरेका विद्यालयहरू वैशाख महिनामा पुनः आफ्नै स्थानमा फर्किएर नयाँ शैक्षिक सत्र सुरु गर्छन् । तर, वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालयहरू भने हिउँदमा दुई महिनाको बिदा दिएर फागुनको पहिलो साताबाट पुनः पठनपाठन सुरु गर्ने परम्परा कायम रहेको छ ।



