पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्र सकियो

काठमाडौं – पोखरा–मुग्लिन सडकअन्तर्गत पश्चिम खण्ड (पोखरा–जामुने) मा १८ किलोमिटर दुई लेनको कालोपत्र कार्य सम्पन्न भएको छ । हालसम्म अठतिस किलोमिटर लामो सो सडक खण्डमा ३७ किलोमिटर एकतर्फी कालोपत्र पुरा भइसकेको छ ।

सडक खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ । उनका अनुसार, “२९.६१ किमी सडकमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ ।”

चालु आर्थिक वर्षमा १४ किलोमिटर कालोपत्रको काम सम्पन्न भएको छ भने सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण गरिएको छ । पश्चिम खण्डमा १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट निर्माण भइसकेका छन् ।

सडकको योजना अनुसार, शहरी क्षेत्रमा ‘सर्भिस लेन’ सहित छ लेनको सडक र अन्यत्र चार लेनको सडक निर्माण हुनेछ । पोखराको सेती पुलदेखि तल्लो गगनगाउँसम्मको खण्ड छ लेनको हुनेछ ।