कञ्चनपुर — कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा प्रवद्धन कार्यक्रम सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्र, नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा खाना पकाउने विभिन्न स्वच्छ ऊर्जा प्रविधि जस्तै विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र घरायसी बायोग्यास प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार कार्यक्रमको उद्देश्य स्थानीय तहमा स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गर्दै दिगो विकास, वातावरणीय प्रदूषण नियन्त्रण र वन विनाश न्यूनीकरणमा योगदान पु-याउनु हो। भट्टले भने, “स्वच्छ ऊर्जा प्रयोग बढे वातावरण र स्वास्थ्यमा सुधार आउँछ, दाउरा र पेट्रोलियम पदार्थको निर्भरता घट्छ। यही कारणले कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ।”
कार्यक्रममा लागत साझेदारी स्पष्ट गरिएको छ। विद्युतीय चुल्होको कुल लागतमा हरित जलवायु कोषले १०%, वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले ४८%, नगरपालिका १९% र उपभोक्ता २३% व्यहोर्ने छन् । सुधारिएको चुल्होमा हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४०–४०%, नगरपालिका १५% र उपभोक्ता ५% खर्च व्यहोर्ने व्यवस्था छ। घरायसी बायोग्यास प्लान्टमा हरित जलवायु कोषले २८%, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४८%, नगरपालिका १०% र उपभोक्ताले १४% खर्च व्यहोर्नेछन्।
नगरपालिकाले स्थानीय बासिन्दालाई आफ्ना वडा कार्यालयमार्फत आवेदन दिन आह्वान गरेको छ । आवेदनका लागि नागरिकताको प्रतिलिपि, माग सङ्कलन फाराम र लक्षित वर्गको प्रमाणपत्र आवश्यक पर्ने बताइएको छ। उपभोक्ताको माग र आवश्यकताका आधारमा स्वच्छ ऊर्जा साधन अनुदानमा उपलब्ध गराइनेछ।
नगर प्रमुख हेमराज ओझाले भने, “कार्यक्रममार्फत दिगो ऊर्जा, हरित वातावरण र स्वच्छ जीवनशैलीतर्फ अघि बढ्दैछौँ। सुधारिएको चुल्हो र बायोग्यास प्रविधिले दाउरा खपत घटाउने, धुवाँ–धुलो कम गर्ने र महिलाको स्वास्थ्यमा सुधार ल्याउनेछ। विद्युतीय चुल्हो प्रयोगले एलपीजी ग्याँसको आयात घटाउन सहयोग पु-याउनेछ र घरेलु विद्युतीय ऊर्जाको प्रयोगमा वृद्धि ल्याउनेछ। यस अभियानले न केवल वातावरणको संरक्षण गर्नेछ, स्थानीयको आर्थिक बोझ पनि घटाउनेछ।”



