कुमारी घर संरक्षणका लागि तत्काल मर्मत अघि बढाउ उपमेयर डंगोलको निर्देशन

काठमाडौं – काठमाडौँ महानगरपालिकाले ऐतिहासिक कुमारी घरको छाना जीर्णोद्धारका लागि १ करोड २५ लाख ४७ हजार ८६४ रुपैयाँ लागत अनुमान गरेको छ ।

गएको बर्खायाममा छाना चुहिने भएपछि गठित प्राविधिक समितिको प्रतिवेदनका आधारमा मर्मत–पुनर्निर्माण खर्च निर्धारण गरिएको हो ।

आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा झिँगटी, काठ, पर्खाललगायतका अवयवहरूको जीर्णोद्धार योजनाबारे छलफल गरिएको थियो ।

उपप्रमुख डंगोलले मौसम प्रतिकूलता अघि नै जीर्णोद्धार सम्पन्न गर्न हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिइन् । उनले पुनःनिर्माणमा धार्मिक, सामाजिक र सांस्कृतिक पक्षको संवेदनशीलता कायम राख्न, विवाद रहित तरिकाले काम अघि बढाउन जोड दिइन् ।

प्राविधिक अध्ययन अनुसार कुमारी घरको तीनै तलामा चिरा परेको, काठका अवयव मक्किएका र छाना धसिएको पाइएका छन् । समितिले छाना भत्काएर पुनःस्थापना गर्ने, प्रयोगयोग्य सामग्री पुनःप्रयोग गर्ने र भित्तेचित्र संरक्षणमा विशेष ध्यान दिन सिफारिस गरेको छ ।

२०७२ सालको भूकम्पपछि आंशिक क्षति सूचीमा परेको कुमारी घरको समग्र संरक्षण अब एकैपटक अघि बढाइने महानगरले जनाएको छ ।