काठमाडौँ – लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
यसअघि किस्ताबन्दी तिर्न सुरु गरेर रोकिएका १० उद्योगले पनि भुक्तानीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले हालसम्म ३५ उद्योगबाट जम्मा २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असूल गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ३५ उद्योगको कुल बक्यौता रकम पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ रहेकोमा हालसम्म पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ असुल गर्न बाँकी छ । यो रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।
ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीसमेत रहेका घिसिङले उद्योगीहरूले राज्यप्रतिको दायित्व सम्झिएर बक्यौता तिर्न थालेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भने,“उद्योगलाई विद्युत् नियमन आयोग वा अदालतमा जाने बाटो खुल्लै छ, तर किस्ताबन्दी सुरु गरेपछि त्यसलाई पालना गर्नुहुनेमा हामी विश्वस्त छौँ ।”
नेपाल विद्युत् प्राधिकरणले असोजमा २१ दिनको समय दिई बक्यौता भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । सो अवधिमा पनि रकम नतिरेका उद्योगको लाइन प्राधिकरणले ४ र ७ कात्तिकमा दुई चरणमा काटेको थियो ।



