काठमाडौँ महानगरमा सिभिल इन्जिनियर र आर्किटेक्टका लागि ९ महिनाको पूर्णकालीन तालिम अवसर

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगमार्फत योग्य सिभिल इन्जिनियर तथा आर्किटेक्टहरूलाई व्यावसायिक सिकाइ, दक्षता र संरचनात्मक डिजाइनसम्बन्धी प्रत्यक्ष अनुभव प्रदान गर्न ‘करियर क्याम्प २०८२’ कार्यक्रम सुरु गरेको छ । नगर प्रशासनभित्र संरचित व्यावसायिक अभ्यास गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण उम्मेदवारहरूलाई ९ महिनाका लागि पूर्णकालीन प्रशिक्षार्थीको रूपमा छनोट गरिनेछ । छनोट भएका प्रशिक्षार्थीहरूले महानगरले सञ्चालन गर्दै आएका विभिन्न पूर्वाधार र निर्माण आयोजनामा प्रत्यक्ष रूपमा सहभागी भई संरचनागत प्रारूप तयार गर्ने, ड्रइङ डिजाइन, लागत अनुमान तयार गर्ने तथा निर्माण कार्यहरूको सुपरिवेक्षण र प्रतिवेदन लेखन जस्ता काममा संलग्न हुनेछन् ।

यस कार्यक्रमले नयाँ इन्जिनियर तथा आर्किटेक्टहरूलाई शैक्षिक अध्ययनपछि आवश्यक हुने व्यावहारिक सीप, दक्षता र अनुभव विकास गर्न ठोस अवसर उपलब्ध गराउने महानगरको उद्देश्य छ ।

करियर क्याम्पमा सहभागी हुन चाहने इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको वेबसाइटमा उपलब्ध ‘Career Camp’ को लिंकमार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।

महानगरपालिकाले यो कार्यक्रम युवापुस्तालाई प्राविधिक क्षेत्रमा व्यावसायिक जीवन प्रारम्भ गर्न सहायक हुने महत्वपूर्ण पहल भएको जनाएको छ ।