बैतडी – जिल्लाको सुर्नया गाउँपालिकामा लामो समयदेखि जारी तालाबन्दीका कारण स्थानीय स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित बनेको छ । पालिकामा तालाबन्दी जारी रहँदा औपचारिक कामकाज अगाडि नबढेपछि स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि तथा सामग्रीको अभाव देखिएको हो ।
सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टका अनुसार सिटामोल, बिटाडिन, जीवनजललगायत दैनिक प्रयोगमा पर्ने अत्यावश्यक औषधि सकिएको छ। उनले सामान्य चोटपटकको उपचार गर्नसमेत समस्या परेको बताए ।
त्यसैगरी, स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्रसिंह विष्टले आवश्यक सामग्री नहुँदा सुत्केरी सेवा र नियमित जाँच–परीक्षणसमेत प्रभावित भएको जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराका अनुसार पालिकाअन्तर्गतका सबै स्वास्थ्य चौकीबाट औषधि र उपकरण अभावको गुनासो आइरहेको छ । औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरे पनि तालाबन्दीका कारण सम्झौता प्रक्रिया रोकिएको हुँदा आपूर्ति गर्न नसकिएको उनले बताए ।
गत असोज २४ गते मागेको सूचना उपलब्ध नगराएको भन्दै ‘जेनजी’ पुस्ताका युवाहरूले सुर्नया गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। सहमति खोज्ने प्रयास गरिए पनि समाधान ननिस्केपछि स्वास्थ्यसहितका अत्यावश्यक सेवाहरू निरन्तर प्रभावित भइरहेका छन् ।



