नयाँबानेश्वरमा खानेपानीको पाइप फुट्दा सडक जलमग्न

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फटेर सडक जलमग्न भएको छ । सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने मार्गमा पाइप फुटेपछि सडकमा ठूलो मात्रामा पानी बग्न थालेको हो ।

पानी बगेर सडक डुबानमा परेपछि सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ भने पैदल यात्रुहरू पनि समस्या झेल्न बाध्य भएका छन् । आकाशे पुलको छेउमा पाइप फुटेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

तर पानी सिधै खोलातर्फ बग्ने भएकाले ठूलो जोखिम भने नभएको प्रहरीको भनाइ छ। संबंधित निकायले पाइप मर्मतका लागि तयारी गरेको बताइएको छ।