काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युतीय सेवा प्रणालीमार्फत ९ महिनाको अवधिमा ४२ हजार ८५६ वटा सिफारिस पत्र जारी गरेको छ । महानगरले २०८१ माघ १३ गतेदेखि अनलाइन सिफारिस प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
प्रणाली लागू भएको दिनदेखि अहिलेसम्म ३५ हजार ४४ जनाले अनलाइनबाट विभिन्न प्रकारका सिफारिसका लागि आवेदन दिएका छन् । त्यसमध्ये गत वर्ष २३ हजार ८६३ र चालु वर्ष १८ हजार ९९३ समेत गरी ४२ हजार ८५६ सिफारिस डिजिटल माध्यमबाट स्वीकृत भएको महानगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्र अनलाइन सेवा लिनेको संख्या २० हजार ३९८ पुगेको छ । विद्युतीय प्रणालीमा हाल १९५ प्रकारका सेवा ढाँचाहरू समावेश गरिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘शिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल गर्दै सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले यो तथ्याङ्क दिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, सरकारसँग नागरिकका धेरै काम वडाबाटै सकिने भएकोले नागरिक सेवा सन्तुष्टिमा ध्यान दिन आग्रह गरेका छन् । विद्युतीय हस्ताक्षर प्रणालीलाई कार्यान्वयन गराउने विषय उल्लेख गर्दै, उनले भने, अनलाइन प्रणालीको पूर्ण कार्यान्वयनले नागरिकको धेरै समस्या सुल्झिन्छन् । सेवा लिन नागरिकले कार्यालय पुग्नु नपरोस् । पुग्नै परे पनि कुर्नु नपरोस् । यसका लागि हामी संवेदनशील बन्नुपर्छ ।



