कञ्चनपुर, — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा कञ्चनपुरका सबै नौ स्थानीय तहलाई विशेष कृषि पकेट क्षेत्रका रूपमा निर्धारण गरी बाली तथा पशुपन्छी उत्पादन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । कृषि तथा पशुपन्छी उत्पादनलाई भौगोलिक विशेषताअनुसार व्यवस्थित गर्दै किसानलाई व्यवसायिक बनाउने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो ।
कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सूचना अधिकारी धर्म साउँका अनुसार स्थानीय तह–विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत प्रत्येक पालिकाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कृषि पकेट क्षेत्र हेर्दा भीमदत्त नगरपालिकालाई केरा, बेदकोट, शुक्लाफाँटा, पुनर्वास र दोधारा–चाँदनी नगरपालिकालाई आलु, कृष्णपुर नगरपालिकालाई तरकारी, लालझाँडी गाउँपालिकालाई दलन, बेलौरी नगरपालिकालाई तोरी, र बेल्डाँडी गाउँपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको छ ।
आलु पकेट क्षेत्रका किसानलाई सहयोग गर्न पुनर्वास, बेदकोट, दोधारा–चाँदनी र बेल्डाँडीमा कोल्डस्टोर सञ्चालनमा रहेको जानकारी दिइएको छ ।
यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले पशुपन्छी उत्पादनमा पनि विशेष पकेट निर्धारण गरेको छ । वरिष्ठ पशु विकास अधिकृत श्याम सिंह खड्काका अनुसार सात पालिकामा भैँसीपालन र दुई पालिकामा बाख्रापालन पकेट क्षेत्र सञ्चालनमा छन् ।
उनका अनुसार भैँसीपालन पकेट क्षेत्र भीमदत्त, बेदकोट, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा–चाँदनी, कृष्णपुर र पुनर्वास नगरपालिकामा रहेका छन् । बाख्रा पकेट क्षेत्र लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा निर्धारण गरिएको छ ।
पुनर्वास र भीमदत्त नगरपालिकामा क्रमशः ६० लाख र ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने अन्य पालिकाका लागि ४० लाख रुपैयाँको व्यवस्था गरिएको छ। उत्पादनका सम्भावित क्षेत्रलाई विशेष पकेटका रूपमा विकास गर्दै व्यावसायिक कृषि विस्तार गर्ने लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको जनाइएको छ ।



