परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

भोजपुर – अरुण गाउँपालिकाले हराउँदै गएको परम्परागत कोगटी (कपास) खेतीलाई संरक्षण गर्दै व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने अभियान थालेको छ । परम्परागत सीप, पहिचान र स्थानीय उत्पादनलाई जोगाउँदै आयमुखी खेतीका रूपमा विकास गर्ने उद्देश्य गाउँपालिकाको रहेको छ ।

स्थानीय कृषक देवकुमार राईका अनुसार कोगटीबाट उत्पादन हुने धागोबाट हातैले बुनेको कपडाको मूल्य उच्च हुने भएकाले यसले कृषकलाई राम्रो आम्दानी दिलाउँदै आएको छ । उनले २० रोपनी क्षेत्रमा कोगटीखेती गर्दै आएका छन् र गत वर्ष यसैबाट रु तीन लाख ५० हजार आम्दानी भएको बताए । एक मुस्ली (थान) कोगटी कपडा बजारमा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने गरेका छन् ।

कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ र त्यसबाट दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायत विविध कपडाका सामग्री बनाइन्छन् । बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले बताए। १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक रूपमा कोगटीखेती गर्दै आएका छन् ।

गाउँपालिकाले संरक्षण तथा विस्तारका लागि उन्नत जातका बीउ, खेतीका उपकरण, धागो उत्पादनका तालिमलगायत सहयोग प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । सङ्घीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त रु ३० लाख बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान–चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ ।

यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा रु २५ लाख बराबरको कोगटीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा आउने भएको छ । वडा नं. ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्र कोगटीखेतीका मुख्य केन्द्रहरू हुन्, जहाँ २५–३० घरधुरीले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।