पहिलो चौमासिकमा काठमाडौं महानगरको खच १२.९४ प्रतिशत

काठमाडौं – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल विनियोजित बजेटको १२.९४ प्रतिशत खर्च गरेको छ । आर्थिक प्रशासन महाशाखाका प्रमुख श्यामप्रसाद न्यौपानेका अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो।

चालुतर्फ विनियोजित ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँमध्ये २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगततर्फ विनियोजित १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँमध्ये १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको महाशाखाले जनाएको छ। यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटको १४ प्रतिशत खर्च गरिएको छ।

वडातर्फ हेर्दा सबैभन्दा बढी खर्च गर्ने वडा नम्बर १६ ले १९.४१ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम ०.३८ प्रतिशत मात्रै खर्च भएको महानगरले जनाएको छ।

गत तीन वर्षको पहिलो चौमासिक खर्च तुलना गर्दा २०८०/८१ मा १२.९ प्रतिशत, २०८१/८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिएको छ।

गत वर्ष २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ विनियोजनमध्ये ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ अर्थात् १२.३४ प्रतिशत खर्च भएको थियो। तीमध्ये चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ रुपैयाँ खर्च गरिएको थियो।

२०८०/८१ आर्थिक वर्षमा भने २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार रुपैयाँमध्ये २ अर्ब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपैयाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो।

यस वर्ष वडातर्फ १० वटा वडाले १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन्। तीमध्ये वडा नम्बर २ ले १२.८१ प्रतिशत, वडा नम्बर ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत, वडा नम्बर १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ ले १२.८४ प्रतिशत, वडा नम्बर २७ ले १४.४४ प्रतिशत र वडा नम्बर २९ ले १०.१४ प्रतिशत खर्च गरेका छन्।