जुद्ध बारुण यन्त्र कार्यालय र भूमिगत फायर ड्राइराइजर कार्यको काठमाडौँ महानगरको अनुगमन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ मा भइरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सुदृढीकरण (रेक्टोफिटिङ् तथा मर्मत) र वडा नं. २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर प्रणालीको अनुगमन गरेको छ ।

अनुगमन क्रममा निर्माण प्रक्रिया, प्रयोग भएको सामग्री, निर्माण शैलीलगायत प्राविधिक तथा गुणस्तरका पक्षहरू सूक्ष्म रूपमा अवलोकन गरिएको समितिले जनाएको छ ।

अनुगमनको क्रममा बारुण यन्त्र कार्यालयको संरचनात्मक शैली, प्रयोग भएका तत्कालीन सामग्री र मर्मत आवश्यकताबारे जानकारी लिएपछि समितिका संयोजक तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मापदण्ड र प्रक्रिया पालना गर्ने पक्षहरूले अनुगमनबाट डराउन नपर्ने स्पष्ट पारिन् ।

उपप्रमुख डंगोलले भनिन्, “अनुगमनमा टोली आउनु कारबाही होइन, सुधारको अवसर दिनेको रूपमा बुझ्नुपर्छ । गलत नियत राख्नेहरूलाई मात्र अनुगमनको त्रास हुन्छ। विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना गर्नेका लागि अनुगमन भनेको आफ्नो क्षमता देखाउने अवसर हो ।”