काठमाडौं – हेटौँडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले भत्काएका संरचनाको व्यवस्थापनमा स्थानीय घरधनी तथा व्यवसायी जुटेका छन् । सडक सीमाभित्र परेका घर, पसल र अन्य भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचरलगायत सामग्री हटाउने र सरसफाइ गर्ने काममा उनीहरू सक्रिय भएका हुन् ।
बिहानैदेखि स्थानीय बासिन्दा र व्यवसायी आफ्ना घर तथा पसल अगाडिका भग्नावशेष सफा गरिरहेका छन् भने भत्किएका भित्ताका पर्खाल पन्छाउने र सटर निकाल्ने कामसमेत भइरहेको छ । सडक विस्तारका क्रममा घरको अगाडिको भाग भत्किएपछि बाँकी भाग हटाउने र सडकको मापदण्डअनुसार नयाँ संरचना निर्माण गर्नेतर्फ उनीहरू जुटेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा मध्य भागबाट दायाँ–बायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना हटाउन भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले यही मङ्सिर ५ गते १५ दिनको समयसहित सार्वजनिक सूचना जारी गरेको थियो ।
तोकिएको समयसीमाभित्र संरचना नहटाइएको भन्दै कार्यालयले शनिबार रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म सडक सीमाभित्र परेका करिब ५०० भन्दा बढी घरटहरा डोजर प्रयोग गरी भत्काएको थियो। तर, सर्वोच्च अदालतले यही मङ्सिर १९ गते सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि हाललाई सडक विस्तारको काम रोकिएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सर्वोच्च अदालतको उत्प्रेषण आदेश आइतबार दिउँसो मात्र कार्यालयमा प्राप्त भएकाले डोजर चलाउने काम तत्कालका लागि रोकिएको हो ।
यसबीच हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा भत्काइएका संरचनाका कारण विस्थापित भएका परिवारलाई आवास व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका प्रवक्ता सविना न्यौपानेका अनुसार, सडक विस्तारबाट पूर्णरूपमा प्रभावित भई जग्गाको अंशसमेत नरहेका तथा अन्यत्र घरजग्गा नभएका परिवारको विवरण वडा कार्यालयमार्फत सङ्कलन गरी मालपोत कार्यालयको विवरण जाँचपछि आवास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
यसका साथै प्रभावित घरधनीलाई नयाँ घर निर्माणका लागि सहुलियत दरमा निश्चित समयका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको प्रवक्ताले जानकारी दिए ।



