मकवानपुर — मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
गाउँपालिकाको आर्थिक विकास समितिले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कृषि उपजहरूको नयाँ समर्थन मूल्य तोकेपछि गाउँपालिकामा उत्पादन हुने प्रमुख रैथाने बालीहरूको मूल्य औपचारिक रूपमा कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले जानकारी दिए ।
नयाँ मूल्यका अनुसार कोदो र धानको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ। त्यसैगरी, फापर प्रजातितर्फ तिते फापरको मूल्य प्रतिकेजी ९० रुपैयाँ र मिठे फापरको मूल्य १ सय ५ रुपैयाँ निर्धारण गरिएको कृषि शाखा प्रमुख गोपाल लम्सालले बताए ।
यस्तै, जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ, सेतो सिमिको १ सय २० रुपैयाँ र कालो सिमिको १ सय ३० रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानका अनुसार ‘उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ कार्यान्वयनको क्रममा समर्थन मूल्य निर्धारण गरिएको हो। विगतको वर्षझैँ यस वर्ष पनि कृषक, कृषक समूह तथा सहकारीमार्फत बाली खरिद–बिक्री गरी किसानलाई प्रत्यक्ष अनुदान उपलब्ध गराइने जानकारी उनले दिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ देखि सहकारीमार्फत रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष पालिकामा करिब १८० क्विन्टल रैथाने बाली उत्पादन भएको थियो। यस वर्ष उत्पादन वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
मकवानपुरगढीका सबै वडामा रैथाने बालीको खेती हुने भए पनि वडा नं. १, २, ४, ७ र ८ ‘कोदो पकेट क्षेत्र’ का रूपमा परिचित छन् भने वडा नं. ६ र ८ फापर पकेट क्षेत्र मानिन्छ। करिब ६ सय हेक्टरमा रैथाने बाली खेती हुने पालिकाले जनाएको छ ।
रैथाने बाली प्रवद्र्धन कार्यक्रममा करिब ५ सय घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित छन्। त्यस्तै, यहाँका सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने परिकार समावेश गर्ने प्रचलन पनि बढ्दो छ ।




