रङ्गशाला भुक्तानी निर्माणको सहजीकरणका लागि मेयर रेनु दाहालसहितको टोली सिंहदरबारमा

भरतपुर — गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक भुक्तानी सहजीकरणसम्बन्धी पहल गर्न भरतपुर महानगरपालिकाको उच्चस्तरीय टोली काठमाडौँ आएको छ। टोलीमा महानगरकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल सहभागी छन् ।

महानगर प्रमुख दाहालका अनुसार टोलीले आज प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव र सम्बन्धित सचिवहरूलाई भेटेर आवश्यक प्रक्रिया मिलाउन आग्रह गर्नेछ। “महानगरलाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भुक्तानी प्रक्रिया अघि बढाउन सहजीकरण आवश्यक छ,” उनले बताए ।

धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा सुरु गरेको र बीचमै छाडिएको रङ्गशाला निर्माणलाई निरन्तरता दिन फाउण्डेशनलाई भुक्तानी दिने प्रक्रियामा कानुनी जटिलता देखिएको छ। संघीय सरकारले १५ करोड रुपैयाँ विनियोजन गरे पनि भुक्तानी निस्कन सकेको छैन ।

उपप्रमुख चित्रसेन अधिकारीले फाउण्डेशनलाई रकम दिन महानगर इच्छुक भए पनि कानुनी प्रावधानले रोकिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार संघीय सरकारले ‘सिर्जित सम्पत्ति खरिद’ शीर्षकमा रकम छुट्याएकाले सार्वजनिक खरिद ऐनअनुसार मात्र खर्च गर्न मिल्छ। फाउण्डेशन भने भ्याटमा दर्ता नभएकाले भुक्तानी गर्दा थप कानुनी समस्या सिर्जना भएको छ ।

भरतपुर महानगरकै आग्रहमा रङ्गशाला निर्माण थालेको फाउण्डेशनले काम नसक्ने अवस्था आएपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो । त्यसपछि २०८० कात्तिक २१ मा प्रदेश सरकार र महानगरबीच सहमति भएर काम अगाडि बढाइँदै आएको छ ।

हाल रङ्गशालाको करिब ४५ प्रतिशत निर्माण पूरा भइसकेको छ । फाउण्डेशनले ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम गरेको दाबी गर्दै आएको छ, जसमा १८ करोड ४३ लाख उधारो रहेको बताइन्छ ।

फाउण्डेशनले २०७५ माघ १६ मा रङ्गशाला निर्माणको घोषणा गरेको थियो। भरतपुर महानगरसँगको सम्झौताअनुसार महानगरले जग्गा उपलब्ध गराउने र करिब तीन अर्ब लागत अनुमानित रङ्गशाला निर्माणका लागि फाउण्डेशनले देश–विदेशबाट सहयोग संकलन गर्ने व्यवस्था गरिएको थियो ।