रैथाने खानाको स्वादमा महानगरबासी

काठमाडौं – काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा महानगरबासीको उल्लेख्य रुचि देखिएको छ । ३१ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँको नारायण चौरमा आयोजना गरिएको मेलाको उद्देश्य खाद्य सेवालाई गुणस्तरीय बनाउँदै सहभागिता र सचेतना अभिवृद्धि गर्नु रहेको महानगरपालिकाले जनाएको छ ।

मेलामा ४९ वटा खानाका स्टल राखिएका थिए । ती स्टलमा नेवारी परिकार चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला लगायतका परिकार प्रदर्शनी तथा स्वादका लागि उपलब्ध थिए ।

यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेटजस्ता परिकारले पनि आगन्तुकको ध्यान ताने । फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनी लगायतका परिकारको स्वादले मेलालाई थप आकर्षक बनाएको थियो ।

पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का पनि मेलाको विशेष आकर्षण बनेको थियो । त्यस्तै जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वाद लिन आगन्तुकको भीड लागेको थियो ।

मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा तथा अन्य खाद्य र आतिथ्यता सेवासँग सम्बन्धित स्टलहरूको सहभागिता रहेको थियो । कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार एउटा स्टलमा करिब ५ सय जनासम्मले परिकारबारे जानकारी लिएका थिए । उनका अनुसार केही स्टलहरूले करिब ५० हजार रुपैयाँसम्मको बिक्री गर्न सफल भएका छन् ।