काठमाडौँ — आगामी आर्थिक वर्ष (आव) २०८३\८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग गरेसँगै बजेट प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो ।
आयोगका अनुसार प्रदेश तथा स्थानीय तहले सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक र विशेष अनुदानका लागि आगामी माघ मसान्तभित्र प्रस्ताव पेस गरिसक्नुपर्नेछ । प्रस्ताव पेस गर्दा अन्य स्रोतबाट कार्यान्वयन भइरहेका वा सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव तयार गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगले तयार पारेको प्राथमिकीकरणसहितको सिफारिस र प्रदेश सरकारको सिफारिस आवश्यक पर्नेछ । स्थानीय तहको हकमा भने सम्बन्धित कार्यपालिकाबाट सिफारिस भई प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । समपूरक र विशेष अनुदानका लागि आयोगको विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत मात्रै प्रस्ताव पेस गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।
त्यस्तै, प्रस्ताव पेस गर्दा समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ का प्रावधानअनुसार गर्न आयोगले आग्रह गरेको छ । कार्यविधिअनुसार अनुदान माग गर्ने आयोजनाका लागि सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसनसहितको विस्तृत विवरण तथा लागत अनुमान अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
यसका साथै वातावरणीय अध्ययन प्रतिवेदनलगायत आवश्यक कागजात पनि संलग्न गर्नुपर्नेछ । अनुदान माग गर्न स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।



